काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेल र पूर्वउपाध्यक्ष भीम रावलबीच वाक् युद्ध चलेको छ । एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत सुदूरपश्चिम पुगेका उपाध्यक्ष पौडेल र गृहजिल्लामा कार्यकर्ता भेटघाटमा व्यस्त नेता रावल एक–अर्काको आलोचनामा उत्रिएका छन् ।
मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरेर नेता रावलले पार्टीको उपाध्यक्ष आफ्नो गृहनगरमा आउँदा समेत आफूलाई जानकारी नदिएको गुनासो गर्दै भने– ‘चैत १३ गते साँफेबगर नगरपालिकामा मिसन ग्रासरुट अन्तर्गत कार्यक्रम गरिएको रहेछ । पार्टीका उपाध्यक्षले मेरो जिल्ला, नगर र घरमा आफू आउँदै छु भन्नुभएन । उक्त कार्यक्रममा बोल्ने एक जनाले फागुन १९ गते मलाई बोलाउने साथीहरूमाथि प्रहार गरेर अभिव्यक्ति दिएपछि ८० प्रतिशत बढीले आपत्ति जनाए ।’ उनले पार्टीले आयोजना गरेको कार्यक्रममा आफूलाई बोलाउने जिल्ला कमिटीका पदाधिकारी माथि उपाध्यक्ष पौडेललगायत केन्द्रीय नेताहरूले स्पष्टीकरण सोधेको भन्दै आक्रोश पनि पोखे।
सोमबार साँफेबगरमा भएको मिसन ग्रासरुट अन्तर्गतको कार्यक्रममा रावल पक्षधर नेता÷कार्यकर्ताले नाराबाजी गरेर कार्यक्रम बिथोल्ने प्रयास गरेको भन्दै यसअघि उपाध्यक्ष पौडेलले पनि पत्रकार सम्मेलन गरेका थिए । सोमबार पत्रकार सम्मेलन गरेर उपाध्यक्ष पौडेलले भनेका थिए– ‘भीम रावलजी पार्टी, जनता र कार्यकर्ताले निर्माण गरेको नेता हो । तर, पछिल्ला दिनमा उहाँले केही गम्भीर गल्ती पनि गर्नुभएको छ । उहाँले पार्टीले दिएको जिम्माअनुसार काम गर्नुभएको छैन । पार्टीका औपचारिक निर्णयका विरूद्ध सार्वजनिक रूपमा बोल्नुभएको छ । स्थानीय, प्रदेश र प्रतिनिधि सभा चुनावका बेला पार्टीका निर्णयसँग बेमेल हुने खालका कुरा बोलेर भीम रावलजीले गल्ती गर्नुभएको छ ।’ उनले यदि रावलले आफ्नो गल्ती र कमजोरीलाई महसुस गरेर पार्टी काममा सक्रिय हुन चाहेमा उनलाई स्वागत गरिने बताए ।
पौडेलले पार्टीले दिएको जिम्मेवारी रावलले पूरा नगरेको, पार्टी अध्यक्षविरूद्ध उम्मेदवारी दिएको भन्दै कटाक्ष गरेका थिए । मंगलबार त्यसको जवाफस्वरूप नेता रावलले भने –‘म उहाँलाई सोध्न चाहन्छु, भीम रावलले गम्भीर गल्ती के ग¥यो ? पार्टीलाई सैतान भन्नेलाई सांसद बनाएको छु कि, हलोमा भोट हाल भनेको छु, कि छातामा १७ जनालाई मत हाल भनेको छु ?’ आफूलाई पार्टीले पछिल्लो समय कुनै जिम्मेवारी नदिएको टिप्पणी गर्दै रावलले भने– ‘अध्यक्षविरूद्ध उम्मेदवारी दियो भन्नुभएको छ, हाम्रो पार्टीले प्रतिस्पर्धात्मक लोकतन्त्रमा विश्वास गर्छ । हिजो ओली र झलनाथजी अध्यक्षमा प्रतिष्पर्धा गर्नुभयो, माधव नेपाल र ओलीजीले प्रतिस्पर्धा गर्नुभयो । मैले ओलीजीसँग प्रतिस्पर्धा गरेर के बिगारेँ ?’
नेपाल समाचारपत्र दैनिकबाट


