काठमाडौं, १६ बैशाख । सत्तारुढ पाँच दलीय गठबन्धनको शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकले नेकपा एमालेसहितका अन्य दलसँग भएको तालमेल खारेज गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले पाँच दलमा भएको सहमतिविपरीत दर्ता गरिएका स्वतन्त्र उम्मेदवारी पनि तत्काल फिर्ता लिने निर्णय लिएको छ।
‘पाँच दलीय गठबन्धनबीच भएको सहमतिविपरीत विभिन्न दलका प्रतिनिधिहरुले स्वतन्त्र रुपमा दर्ता गरेका उम्मेदवारीहरु तत्काल फिर्ता गर्न पहल गर्ने’, निर्णयमा भनिएको छ, ‘पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलसँग भएको तालमेल तत्काल खारेज गर्ने।’
बैठकले गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमतिअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिका प्रमुख तथा उपप्रमुख पदमा भएको उम्मेदवारी पनि तत्काल फिर्ता लिने निर्णय गरेको छ।



