राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतमा ठूलो पार्टी बन्ने चाहनामा परेर गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्वीकारेका छन् ।
सोमवार राप्रपा नेपाल रामेछाप जिल्ला समितिले मन्थलीमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विगतमा जनमुखी हुन नसकेको र संगठनमुखी नभएको बताएका हुन् ।
उनले सत्ता केन्द्रित फोहरी खेलमा अलमलिँदा पार्टी महत्त्वहीन र भूमिकाविहीन भएकाले विगतका त्रुटि र कमजोरी सच्याउँदै आगामी दिनमा गल्ती नगर्ने वाचा पनि गरेका छन् ।
उनले राप्रपा नेपाल पुनर्जागृत गरी जनताको माझमा आएको समेत स्पष्ट पारे ।
नेपाललाई बाह्य शक्ति केन्द्रहरूको रणनीतिक प्रतिस्पर्धास्थल बनाउने खेलअनुसार काम भइरहेको भन्दै थापाले ठूला भनिने दलहरू मुलुकको स्वाधिनता र समृद्धिमा भन्दा ब्रम्हलुटमा केन्द्रित भएको समेत आरोप लगाए ।
भ्रष्टाचार ,बेरोजगारी र कुशासनको दलदलमा फसाउने अदूरदर्शी दलहरूको विकल्प खोज्ने बेला आएको भन्दै थापाले राप्रपा नेपाल नै अरू असफल दलको विकल्प हुन सक्ने दाबी गरे ।
धर्म परिवर्तनको डढेलोले गर्दा मुलुक धार्मिक द्वन्द्वतर्फ जानेमा समेत थापाको चिन्ता थियो ।
राप्रपा नेपालले आगामी दिनमा राजाको एजेन्डालाई कार्यनीति बनाउन नसकिने भन्दै पार्टीको एजेन्डा सम्बर्द्धनवाद, सुशासन ,हिन्दुत्व र समृद्धि हुने स्पष्ट पारे ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष लाक्पा तामाङ र महामन्त्री राजाराम बर्तौलाले राप्रपा नेपाल आगामी दिनमा मुलुकको बलियो राजनीतिक शक्तिको रुपमा स्थापित हुने दाबी गरे । जिल्ला अध्यक्ष रामचन्द्र कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपा नेपाल प्रवेश गर्नेहरुलाई अध्यक्ष थापाले सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए ।


