शहीद स्मारक ‘बी’ डिभिजन लिग फूटबल प्रतियोगितामा चर्च ब्वाइज क्लब विजयी भएको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) कम्प्लेक्समा बुधवार भएको खेलमा चर्च ब्वाइजले रानीपोखरी कर्नर टीम (आरसीटी) लाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । चर्च ब्वाइजको जीतमा कुवेर न्यौपाने र आशिष चापागाईंले गोल गरे |
खेलको ५२औं मिनेटमा कुवेरले गोल गर्दै चर्च ब्वाइजलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ७५औं मिनेटमा आशिषले गोल गर्दै चर्च ब्वाइजलाई २–० को जित दिलाए ।
जीतसँगै चर्च ब्वाइजले १० खेलमा २० अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा रहेको छ । समान खेल खेलेको आरसीटीको १५ अंक छ । आरसीटी अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।


