काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सत्तारुढ दलहरुबीच सिट बाँडफाँट टुंगो लगाउन बसेको बैठक निष्कर्षविहीन बनेको छ ।
प्रधानमन्त्री निवास बालुवाटरमा आज बिहान साढे ११ बजेदेखि गठबन्धनका शीर्ष नेताहरुको बैठक करिब १० घण्टा चलेको थियो । बैठकको बीचबीचमा नेताहरु निस्कने पस्ने क्रम चलिरहेको थियो । गम्भीर भएर छलफल गरिएको भनिए पनि निष्कर्ष भने आउन सकेन ।
गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीररुपमा छलफल भए पनि आज कुनै निष्कर्षमा पुग्न नसकिएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
सो विषयमा बैठकमा निरन्तर छलफल भए पनि सङ्ख्यामै कुरा अड्किएको र छिट्टै निष्कर्षमा पुगिने उनले विश्वास व्यक्त गरे ।
यसअघि बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए ।
सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल हुँदै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा पाँचै दलका शीर्ष नेताको उपस्थिति थियो । –रासस


