गोरखा नगरपालिकाका जनप्रतिनिधीलाई स्थानीय सरकार सञ्चालन प्रकृयाका बारे अभिमुखिकरण गराइएको छ । सोच नेपालको आयोजनामा आइतबार भएको कार्यक्रममा गोरखा नगरपालिकाका १४ वटै वडाका नवनिर्वाचित जनप्रतिनिधी, बिषयगत शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । नागरिक साझा सवाल गोरखाका संयोजक स्थानेश्वर दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख कृष्ण बहादुर राना मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्थानीय शासन विज्ञ दीपक कोइराला, अधिवक्ता स्थानेश्वर दुवाडी, गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त र पत्रकार एवं सोच नेपालका मोहसिन अलि मियाँले सहजीरकण गरेका थिए ।
तिन चरणमा सञ्चालन गरिएको कार्यक्रममा सक्षम स्थानीय तह कसरी बनाउने, स्थानीय सरकारका मुख्य सूचकहरु, स्थानीय तहका विशेषता, गर्ने पर्ने काम, वित्तिय अनुशासनका लक्ष्य, नेतृत्वका गुण, ध्यान दिनुपर्ने कुरा, क्षमता र सिप, सशक्तकरणका पाँच ‘स’, क्षमताका प्रकार, विकास योजनाको अवधारणा, बार्षिक कार्यक्रम र बजेटको परिचालनका प्रकृया र विधि, दिर्घकालिन सोच, योजना तर्जुमाका आधार, चरण र प्रकृयाहरुका बारे जानकारी गराइएको थियो ।
त्यस्तै कार्यक्रममा मेयर, उपमेयर, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरुको काम, कर्तब्य र अधिकार, न्यायिक समिति तथा स्थानीय सरकार सञ्चालन निर्देशिकामा भएका कानूनी बिषय तथा पाँच बर्षमा गोरखा नगरपालिकामा निर्माण भएका कानून, नीति, कार्यविधी, निर्देशिका तथा कार्ययोजनाहरु, त्यसको कार्यान्वयनको अवस्था, चुनौती र आगामी योजनाका बारे समेत छलफल भएको थियो ।
कार्यक्रमको समापन गर्दै नगरप्रमुख कृष्ण राना मगरले सुन्दर नगर बनाउने योजनाबाट आफु विचलित नहुने बताएका छन् । गोरखा नगरपालिकालाई सुशासनमैत्री नगरका रुपमा विकास गर्न प्रतिवद्ध रहेको बताउदै उनले हरेक कार्यक्रम र योजनामा ब्यापक जनसहभागिता सुनिश्चित गर्ने बताएका छन् ।
त्यस्तै उपप्रमुख मसलीमाया थोकरले गोरखा नगरपालिकालाई ब्यवस्थित नगर र शहर बनाउन सबै एकतावद्ध हुनुपर्नेमा जोड दिएकी छिन् ।


