नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी स्थानीय तहको निर्वाचन अरुका लागि निर्वाचन मात्रै भए पनि माओवादीका लागि उपलब्धि जोगाउने लडाइँ भएको बताएका छन् । देशमा आफूहरूले लडेर ल्याएको उपलब्धि उल्ट्याउने षड्यन्त्र भएको उनले बताए ।
शनिबार गोरखाको वारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले निर्वाचन लाखौं जनताको सपनाहरू सफल पार्ने वा विफल पार्ने भन्ने लडाइँ भएको बताए ।
‘बच्चालाई साँचो माया बच्चा जन्माउने आमा र बाबालाई हुन्छ । मुख्य त आमालाई हुन्छ, सौतेनी आमालाई हुँदैन,’ उनले भने, ‘यहाँ हामीले जन्माएको बच्चालाई सौतेनीहरूले मार्ने षड्यन्त्र गर्दै छन्, त्यसकारण खबरदारी गर्ने जिम्मा तपाइँ-हाम्रो हो ।’
अझै पनि अवसरवादी र प्रतिक्रियावादीहरुले माओवादी जनयुद्धको परिवर्तनलाई उल्टाउने षडयन्त्र गरिरहेको उनले बताएका थिए । ‘अरुका लागि स्थानीय तहको निर्वाचन निर्वाचन मात्र होला, माओवादी केन्द्रका लागि निर्वाचन मात्र होइन, सहिद, वेपत्ता योद्धा, लाखौं जनताका सपनाहरू सफल पार्ने कि विफल पार्ने भन्ने लडाइँ हो,’ उनले भने,‘ अरुलाई जित्दा वा हार्दा फरक पर्दैन, हाम्रो लागि आउँदै गरेको चुनाव लडाइँ हो, हामीले हार्दा गणतन्त्र हार्छ, समावेशी समानुपातिक, सयौं वर्षदेखिको अत्याचारमा राखिएको वर्ग समुदायको हक अधिकार खोसिन्छ, हामीले जित्दा बच्नेछ ।
नेता दाहालले आगामी निर्वाचनमा माओवादीलाई घेरा हाल्ने र सखाप पार्ने षड्यन्त्र भइरहेको पनि बताएका थिए । ‘पोहोर पनि पार्टी विघटन गरेर माओवादी सिद्ध्याउने खेल थियो, टार्गेट थियो, मिसन थियो, हामी जनताको साथ गयौं, सडकबाट जनता लिएर त्यो सपना चकनाचुर पार्यौं,’ उनले भने, ‘अहिले चुनावमा त माओवादी हराउने हराइछाड्ने भनेर लागेका छन् ।’
सम्बोधनको क्रममा दाहालले गोरखा जिल्ला ‘लालकिल्ला’ भएको र यहाँबाट माओवादी जागेर एक महिना कस्सियो भने मुहार फेर्न सकिने विश्वास व्यक्त गरे । साथै परिवर्तन उल्टाउने षड्यन्त्र भए ‘रंगिन क्रान्ति’ पनि हुनसक्ने भन्दै उनले चेतावनी दिएका थिए ।
‘हतियार उठाउने कुरा गरेको छैन । कलरफुल रिभोलुसन, रंगिन क्रान्तिबाट पनि परिवर्तन उल्टाउन दिँदैनौं । उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग समुदायका जनता सडकमा आए भने दुनियाको कुनै ताकतले परिवर्तन रोक्न सक्दैन,’ उनले भनेका थिए ।


