काठमाडौँ – अभिनेता केदार घिमिरे (माग्ने बुढा)ले वर्ष २०७९ सालको वर्ष अभिनेताको अवार्ड प्राप्त गरेका छन्। बुधबार काठमाडौँमा बक्स अफिस इन्टरनेशनल ग्रुपले अभिनेता घिमिरेलाई वर्ष अभिनेताको अवार्ड प्रदान गरेको हो।
अवार्ड प्राप्त गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेता घिमिरेले आफू सानो कलाकार भएको र सानै भएर बाच्ने रहर रहेको बताए। उनले आफू अहिलेको स्थानसम्म आइपुग्नुमा दर्शकहरुको साथ र माया रहेको भन्दै आफूमा घमण्ड आउन नदिने प्रतिबद्धता जनाए।
उनले कोरोनाको संक्रमणका साथै आर्थिक अवस्था कमजोर हुने स्थिति बढिरहे पनि आत्मबलले त्यसलाई परास्त गर्न सकिने बताए।
उनले भने, ‘यो मैले वर्ष अभिनेता भनेर अवार्ड पाएको छु, त्यसका लागि अत्यन्त खुशी लागेको छ। दर्शकहरुमा यो म समर्पण गर्न चाहन्छु। दर्शकको माया र आशिर्वादले नै आज मैले यो अवार्ड प्राप्त गरेँ भन्ने विश्वास छ। म सानै कलाकार हो, र म सधैँ सानै भएर बाँच्न चाहन्छु, तपाईंहरुको माया सधैँ रहिरहोस्। ममा घमण्ड कहिल्यै पनि नपलाओस्।’
कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र क्षेत्रका लागि वर्ष २०७९ सुखद् रहेको बताए। उनले २०७९ मा १० वटा चलचित्रहरुले मुनाफा कमाउनु खुशीको कुरा रहेको बताए।


