काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ ।

तीन प्रतिष्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो ।

पहिलो चरणको निर्वाचनबाट रामचन्द्र संघई बाहिरिएका छन् । अब दोस्रो चरणमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिष्पर्धा हुनेछ ।

जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारतमध्ये अञ्जन श्रेष्ठले सबैभन्दा धेरै ३७ दशमलव ९९ प्रतिशत मत प्राप्त गरेका छन् भने उमेशलाल श्रेष्ठले ३१ प्रतिशत मत प्राप्त गरे । साथै रामचन्द्र संघईले ३० दशमलव ४६ मत पाए ।

महासंघकाे विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ ।

महासंघको बुधबार निर्वाचन भएको थियो । जसमध्ये वरिष्ठ उपाध्यक्षतर्फको मतगणना आज विहान सकिएको हो ।

मतपरिणाम अनुसार एसोसिएटतर्फ कुल खसेको एक हजार ६ सय २० मतमध्ये संघईले ६१३ मत, अञ्जन श्रेष्ठले ५७३ मत र उमेशलाल श्रेष्ठले ४२६ मत पाए । साथै ८ मत बदर भयो ।

जिल्ला नगरतर्फ कुल खसेको ११७ मतमध्ये अञ्जनले ४७, रामचन्द्रले ३९ र उमेशलालले २८ मत पाएकाे निर्वाचन समितिले जनाएकाे छ । साथै ३ मत बदर भयो ।

वस्तुतगतर्फ खसेको १२३ मतमध्ये उमेशलाल ६९, अञ्जनले ४१ र रामचन्द्रले १२ मत पाए भने एक मत बदर भयो ।

निर्वाचनले आगामी ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षसहितका केन्द्रीय सदस्यको नयाँ नेतृत्व चयन गर्नेछ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुँदैछन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षलाई महत्वका साथ हेरिँदै आएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय