राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा पत्रकार सम्मेलन गरेर सांसद डा. ढाकाकुमार श्रेष्ठले जनवरीमा भएको अडिओ अहिले हालेर पार्टीमाथि प्रहार गरिएको जिकिर गरेका छन्।
सांसद श्रेष्ठले बुधबार साँझ रास्वपाको केन्द्रीयमा पत्रकार सम्मेलन गरेर दुई करोड घूस मागिएको अडिओ प्रकरणबारे बोलेका हुन्। रास्वपाकै ब्यानरमा गरिएको पत्रकार सम्मेलनमा सांसद श्रेष्ठले पार्टीमाथि सुनियोजित प्रहार गरिएको जिकिर गरे। रास्वपा सांसद श्रेष्ठले भने, “यो अडिओ केही पनि होइन, फसाइएको हो, सुनियोजित गरिएको हो।”
जनवरीमा भएको अडिओ उपनिर्वाचनका वेला सुनियोजित तरिकाले बाहिर ल्याइएको उनको भनाइ थियो। “जनवरीमा भएको अडिओ अहिले हाल्नु भनेको सुनियोजित किसिमले हाम्रो पार्टीलाई प्रहार गरिएको हो। पार्टीलाई हराउन गरिएको सुनियोजित योजना हो,” श्रेष्ठले भने।
उनले आफू न्यायालयबाट सफाइ पाएर आउने जिकिर गरे। “म न्यायालय गएर, मेरो सम्पूर्ण कुरा प्रष्ट पारेर क्लिन चिट लिएर आउछु,” श्रेष्ठले भने।
स्वास्थ्य मन्त्री बन्नका लागि पार्टीलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घूस मागेको अडिओ चैत २६ मा सार्वजनिक भएको थियो। मेडिकल व्यवसायी प्रसाईंले पनि सार्वजनिक रुपमा यो अडिओ सत्य भएको बताएका थिए।
अडिओ सार्वजनिक भएसँगै रास्वपाले छानबिन समिति गठन गरेको छ। समितिले दिएको प्रतिवेदनका आधारमा उनीमाथि कारबाही हुने जनाएको छ।


