काठमाडौं– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहका थप एक सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङ घर भएका सन्देश शर्मा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीले जानकारी दिए। यसअघि यही प्रकरणमा चार जना पक्राउ परे पनि शर्मा भने फरार थिए।

शर्मा एमाले निकट विद्यार्थीका नेतासमेत हुन्। एक वर्षअघि उनी पक्राउ परेलगत्तै छुटेका थिए। चार जनाको समूह पक्राउ परेपछि भने शर्मा फरार भएका थिए।

शर्माकै योजनामा दाङका मात्रै ८१ जना नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउन लागेको खुलेको छ। उजुरी दिएकामध्ये ८१ जना दाङका रहेको पाइएको छ।

अहिले पक्राउ परेका शर्माले रकम उठाउने र शक्तिकेन्द्रसम्म पुर्‍याउने गरेको खुलेको छ। यो गिरोहबाट पीडित भएको भन्दै उजुरी दिनेको संख्या अहिले १४५ पुगिसेको छ। उनीहरूबाट १० लाखदेखि ४० लाख रुपैयाँसम्म लिएर ठगी गरेको पाइएको छ।

यसअघि प्रहरीले ललितपुर महानगरपालिका–२३ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४, सीतापाखा बस्दै आएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भइ ललितपुरको धापाखेल बस्दै आएका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ घर भइ ललितपुरको धापाखेल नै बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङलाई पक्राउ गरेको थियो।

उनीहरू पक्राउ परेको केही दिनपछि सोही प्रकरणमा संलग्न भएको आरोपमा मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राईलाई पक्राउ गरेको थियो। यी चारै जनामाथि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।

यसअघि पक्राउ परेकाहरूले गृहका तत्कालीन सचिवहरूदेखि मन्त्री, मन्त्रीका सचिवालयका व्यक्तिहरूकै योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने काम भएको दाबी गर्दै बयान दिएको स्रोतले जानकारी दियो।

तर, आफूहरूले नाम लिएका व्यक्तिहरूको नाम बयानमा समावेश नै नगरेको भन्दै उनीहरू सरकारी वकिल कार्यालयसँग समेत रुष्ट भएको स्रोतले बतायो।

नेपाल लाइभ

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय