काठमाडौँ – ढाकाकुमार श्रेष्ठलाई स्वास्थ्यमन्त्री बनाउन अडियो कुराकानीमा दुई करोड दिन तयार भएका व्यवसायी दुर्गा प्रसाईंमाथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ।
गत पुसमा सरकार गठन हुँदा स्वास्थ्यमन्त्री बन्न पार्टीको ‘कोर टिम’लाई दुई करोड बुझाउनु पर्ने भन्दै रास्वपाका सांसद श्रेष्ठले व्यवसायी प्रसाईसँग रकम मागेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको हो।
आयोगका प्रवक्ता भोला दाहालले सञ्चार माध्यममा आएका सूचनाका आधारमा उजुरीका रुपमा विषय दर्ता भएको जानकारी दिए। उनले भने, ‘सञ्चार माध्यममा आएका कुराहरुका आधारमा उजुरीका रुपमा दर्ता भएको छ।’
आयोगले उजुरीका रुपमा दर्ता गरेसँगै अडियोमाथि औपचारिक रुपमा छानबिन सुरु भएको हो। अडियोमाथि छानबिन हुँदा रकम माग्ने सांसद श्रेष्ठमाथि मात्रै नभई व्यवसायी प्रसाईंमाथि पनि अनुसन्धान हुने आयोगले जनाएको छ।
श्रेष्ठलाई रकम दिने आश्वासन दिने र अहिले आफैँले अडियो बाहिर ल्याएका प्रसाईंलाई पनि अनुसन्धानको दायरामा ल्याउने तयारी आयोगले अघि बढाएको छ।
यसअघि यस्तै घुस प्रकरणमा मुछिएका आफ्ना पूर्वआयुक्त राजनारायण पाठकलाई समेत आयोगले अनुसन्धानको दायरामा ल्याएर विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो।
भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनियरिङ कलेजको स्वामित्व विवादबारे आयोगमा उजुरी परेपछि पाठकले लम्बोदर न्यौपाने पक्षधरलाई जिताइदिने भन्दै उनीसँग कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो।
अडियोमा पाठकले ७८ लाख रुपैयाँ लिएर न्यौपाने पक्षधरको पक्षमा आयोगबाट निर्णय गराउने प्रतिबद्धता उक्त अडियोमा गरेका थिए।
अडियो सार्वजनिक भएपछि २०७५ फागुन ३ गते राजीनामा दिएपछि आयोगले उनीमाथि त्यही साल चैत १२ गते अनुसन्धान गरेर भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामाथि फैसला गर्दै आयोगले गत पुसमा पाठक र न्यौपाने दुवैलाई घुस लेनदेनको उद्योग (प्रयास) गरेको ठहर गर्दैै तीन/तीन वर्ष कैद सजाय र ३९ लाख रुपैयाँ बिगो भराउने आदेश गरेको छ।
विशेष अदालतले पाठकलाई भ्रष्टाचार उद्योग गरेको अभियोगमा तीन वर्ष र सार्वजनिक पदमा रहेर हुँदा थप तीन महिना सजाय गरेको छ। श्रेष्ठ र प्रसाईंबीच अहिले सार्वजनिक भएको अडियो प्रकरण पनि पाठक र न्यौपानेसँग मिल्दोजुल्दो भएको आयोगको प्रारम्भिक निष्कर्ष छ।
गोकुलमाथिको छानबिन फासफुस
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियोबारे भने अख्तियारले सार्वजनिक लेखा समितिको निर्देशन हुँदाहुँदै तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटामाथि भने छानिबन नै गरेन।
तत्कालीन सत्तारुढ एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबका कारण उजुरी र लेखा समितिको निर्देशन हुँदाहुँदै पनि आयोग बास्कोटामाथिको अनुसन्धानबाट भागेको थियो।
बास्कोटाले ७० करोड घुस मागेको अडियो स्वीस कम्पनी केबीए नोटासिसको एजेन्टका रुपमा बास्कोटासँग कुरा गरेका विजयप्रकाश मिश्र आफैँले बाहिर ल्याएका थिए।
आफू दिएको निर्देशनबारे लेखा समितिले पटक पटक पत्र लेखेर आयोगसँग जानकारी मागे पनि आयोगले ‘मिश्र बयानका लागि उपस्थित नहुँदा’ छानबिन नै रोकिएको जवाफ दिएको थियो।
लेखा समितिले २०७६ फागुन ३० गते अख्तियारलाई पत्र लेखेर अनुसन्धान गर्न भने पनि त्यो प्रकरण त्यत्तिकै सामसुम भएको छ।


