काठमाडौ – बूढानीलकण्ठ-८, गणेशचोक स्थित नेसनल युनाइटेड स्कुलले यही मिति २०७९ चैत्र २६ गते आइतबार एसईई परीक्षा २०७९ मा सहभागी आफ्ना १४ औं ब्याचका विद्यार्थीहरूलाई परीक्षा समाप्त भए पश्चात शैक्षिक परामर्श सहित सम्मान गर्नुका साथै शिक्षकहरुलाई समेत सम्मान गरेको छ l
दश कक्षाको अन्त्यमा लिईने राष्ट्रिय स्तरको परीक्षामा स्कुलले २०६६ सालमा पहिलो पटक सहभागी भएदेखि २०७८ सालसम्म परीक्षामा सम्मिलित सम्पूर्ण ६५० जना विद्यार्थीहरूलाई दीक्षित गराई सकेको जनाएको छ l यस स्कुलबाट दीक्षित विद्यार्थीहरू स्वदेश तथा बिदेशमा डाक्टर, इन्जिनियर, नर्स, चार्टर्ड एकाउन्टेन्ट, गायक, मोडल, शिक्षक, व्यापारी, समाजसेवी, राजनीतिकर्मी लगायतको रुपमा कार्य गरिरहेको समेत जनाएको छ l
यस वर्षको एसईई परीक्षाको अन्तिम दिन परीक्षाको समाप्तीपछी विद्यालयबाट सहभागी भएका सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयको नवनिर्मित अत्याधुनिक हलमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि एवम् बूढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव ललित बिक्रम सिंह, कार्यक्रमका सभापति एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह-प्राध्यापक रेवती प्रसाद दाहाल, विशेष अतिथि एवम् बूढानीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपक कार्की, विद्यालयका संस्थापक जेबी हमाल, प्रिन्सिपल शायरा हमाल तथा सम्बन्धित विद्यार्थीका अभिभावकहरुले विद्यार्थीहरुलाई टिका, खादा, प्रमाणपत्र एवम् मायाँको चिनो सहित सम्मान गरिएको थियो l त्यसैगरी कक्षा १० मा नियमित रुपमा अध्यापन गर्ने साथै एसईई विशेष तयारी कक्षामा विषय विज्ञको रुपमा अध्यापन गर्नुहुने सम्पूर्ण शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो l
विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रम भब्य रूपमा सम्पन्न भएको थियो l उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिंहले विद्यार्थीहरुलाई एसईई परीक्षा पश्चात के गर्ने भन्ने सम्बन्धमा परामर्श दिनुका साथै सहि ढंगले अभिभावकत्व प्रदान गरेमा विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न सकिने कुरा बताउनुभयो l
त्यस्तै विशेष अतिथि दिपक कार्कीले आफूलाई इच्छा लागेको विषय पढ्ने र योजनावद्ध तरिकाले अगाडी बढ्ने बानीले सफलता प्राप्त हुने कुरामा जोड दिनुभयो भने संस्थापक हमालले विद्यार्थीहरुलाई उत्कृष्ट नतिजाको लागि शुभकामना दिंदै विद्यालयको स्थापना कालदेखि हालसम्म भएका क्रियाकलाप र उपलब्धिहरु साथै आगामी दिनको कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो l
कार्यक्रममा सम्मानित विद्यार्थी, शिक्षक, अभिभावकहरुले विद्यालयले गर्दै आएको विविध गतिविधिहरुको खुलेर प्रसंशा गर्दै निरन्तरताको लागि शुभकामना दिएका थिए भने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दाहालले सम्मानित सबैलाई बधाई तथा विद्यार्थीहरुलाई उत्कृष्ट नतिजाको लागि शुभकामना व्यक्त गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन सहित शैक्षिक उन्नयनमा विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको सक्रिय सहभागिताको महत्वपूर्ण भूमिका रहने कुरा बताउनुभयो l


