काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले परीक्षा र स्थानान्तरणमा व्यवस्थापन गर्ने भन्दै विद्यार्थीलाई अन्तर जिल्ला र अन्तर कलेज स्थानान्तरण गर्न नपाइने निर्णय गरेको छ। विश्वविद्यालयले निजी कलेजमा भर्ना भएका विद्यार्थी अबदेखि आंगिक कलेजमा बीचमा स्थानान्तरण हुन नपाउने समेत निर्णय गरेको छ।
विश्वविद्यालयको प्राज्ञिक परिषद्को फागुन २८ को निर्णयले विद्यार्थीलाई अन्तर कलेज र अन्तर जिज्लामा रोक लगाएको हो। त्रिवि प्राज्ञिक परिषद्को फागुन २८ गतेको निर्णयको बुँदा नम्बर ९९ मा आंगिक क्याम्पसबाट आंगिक क्याम्पस र सम्बन्धन प्राप्त कलेजबाट सम्बन्धन प्राप्त क्याम्पसमा मात्रै स्थानान्तरण गर्न पाइने ब्यवस्था गरेको छ। ‘जुनसुकै अवस्थामा पनि आंगिक क्याम्पसबाहेक अन्य क्याम्पसहरूमा एउटै जिल्लाभित्र स्थानान्तरण गर्न नपाइने ’त्रिविको निर्णयमा उल्लेख छ ‘प्रथम र अन्तिम वर्ष( सेमेष्टरमा स्थानान्तरण गर्न नपाउने।
तर आंगिक क्याम्पसहरूमा ऐक्षिक विषय छनौट र प्रयोगशालाको ब्यवस्थापनको कारणले यस निर्णयले प्राविधिक समस्या उत्पन्न हुने भएमा अन्तिम वर्ष(सेमेष्टरमा स्थानान्तरण गर्न पाउने वा नपाउने सम्बन्धमा अन्तिम निर्णय गर्ने अधिकार सम्बन्धित डिनलाई हुने छ।’ सोही निर्णयमा थप व्यवस्था गरिएको छ, ‘यसबाहेक अन्य ढंगले भए गरेका सबै स्थानान्तरण र नियमविपरीत स्थानान्तरण भएका क्याम्पसबाट दिएका परीक्षा स्वतः रद्द हुनेछ।’


