काठमाडौँ– ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएपछि स्थानीयहरु नगरपालिकासँग छलफलमा जुटेका छन्।

शुक्रबार राति निर्माणाधीन अपार्टमेन्ट वरपरका घर भासिएपछि ज्यानै जाने डरले स्थानीयको भागाभाग भएको थियो। हालसम्म कुनै पनि स्थानीयको उजुरी भने प्रहरीमा परेको छैन।

यद्यपि, प्रहरीले मुचुल्का उठाउनेलगायतका प्रारम्भिक अनुसन्धान भने सुरु गरिसकेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख सिद्धिविक्रम शाहले बताए।

‘प्रहरीमा उहाँहरुमध्ये कसैले व्यक्तिगत रुपमा उजुरी त दिनुभएको छैन तर प्रहरीले गर्ने प्रारम्भिक अनुसन्धानहरु गरिरहेको छ,’ उनी भन्छन्, ‘नक्सा पास नगरी अपार्टमेन्ट बनाएको भन्ने बुझिएकोले अहिले स्थानीयहरु नगरपालिकासँग छलफलमा जुट्नुभएको छ।’

नक्सा पास नै नगरी र आफूहरुसँग अनुमतिसमेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेपछि आफूहरुको घरसमेत भासिन पुगेको स्थानीयको भनाइ छ। उनीहरुले आफूहरुको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था तत्काल गर्न पनि माग गरेका छन्।

अपार्टमेन्ट बनाउनका लागि सम्बन्धित वडा र अन्य कुनै पनि निकायबाट अनुमति नलिएको पनि स्थानीयको दाबी छ। गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरुलाई घरबासविहीन बनाउने पक्षलाई तत्काल कारबाही गर्न माग गरेका छन्।

अपार्टमेन्ट निर्माणको क्रममा वरपरका घरहरु भासिएपछि भागदौड गर्ने क्रममा कतिपय घाइतेसमेत भएका छन्।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भने उक्त अपार्टमेन्ट नक्सा पास नगरी निर्माण सुरु गरिएको पाइएको बताएका छन्।

‘नक्सा पास गर्नु भनेको लिगल प्रोसेस हो तर उहाँहरुले त्यो पुरा गर्नुभएको पाइएन,’ उनी भन्छन्, ‘कानुन भन्ने कुरा सबैलाई बराबर लाग्ने हो, कोही उच्च पदमा छ भन्दैमा कम लाग्ने भन्ने हुँदैन।’

मेयर महर्जनले आफ्नो तर्फबाट गर्ने सम्पूर्ण काम गर्न आफू तयार रहेको बताएका छन्।

स्थानीयले आफूहरुको विचल्ली हुँदा पनि निर्माण कम्पनीले आफूहरुको पीडाको सुनुवाइ नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्। स्थानीयले दबाब दिएपछि सो अपार्टमेन्टको निर्माण कार्य पनि रोकिएको छ।

सो अपार्टमेन्ट ६ अर्ब लगानीमा निर्माण हुने प्रक्रियामा रहेको थियो। निर्माणाधिन ‘द समिट होटल एण्ड रेसिडेन्स’ १८ रोपनी जग्गामा बन्न लागेको थियो। निर्माणपछि सो भवनमा १ सय २९ वटा होटलका रुम र ४८ वटा अपार्टमेन्ट बन्ने तयारी रहेको छ।

अन्तर्राष्ट्रिय अपार्टमेन्ट र होटलको रुपमा निर्माणाधिन रहेको सो भवनका अधिकांश कोठाहरु भाडासमेत लागिसकेको बुझिएको छ। अपार्टमेन्ट निर्माणमा कांग्रेस सांसदसमेत रहेका अर्बपति विनोद चौधरी, रवि भक्त श्रेष्ठ र अमृतरत्न शाक्यको साझेदारी रहेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय