काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चालु आर्थिक वर्षमा हालसम्म उद्योग मन्त्रालयको बजेट खर्च न्युन रहेको बताएका छन् ।
शुक्रवार निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री रिजालले उद्योग मन्त्रालय अन्य मन्त्रालयको तुलनामा चालु आर्थिक वर्षमा खर्च गर्नमा सबैभन्दा कमजोर रहेको बताए ।
मन्त्रालयको बजेट खर्च गर्न नसक्दा यत्तिकै थन्किएको स्वीकार गर्दै उनले निर्यात व्यवसाय प्रवद्र्धनका लागि सरकार सहयोग गर्न तयार रहेको पनि बताए । उनले निर्यात व्यवसायीहरुले देशको व्यापार घाटालाई कम गर्न महत्वपूर्ण भूमिका खेलेको पनि बताए ।
‘ट्रेड ब्यालेन्सको यो जुन ग्याप छ, यसलाई पूरा नगरी मुलुक अघि बढ्न सक्दैन । आजको युग भनेको ओपन मार्केटमा गइसकेको युग, तपाईहरुले आफैँ पनि प्रतिष्पर्धा गर्नुपर्छ,’ मन्त्री रिजालले भने, ‘सरकारले सहयाग गर्नुपर्छ, तपाईहरुलाई सहयोग गर्न सरकार तयार छ, तपाईहरुले बढी प्रयास गर्नुपर्छ । व्यापार घाटा कम गर्न तपाईहरुले खेल्नुभएको भुमिका सह्रानिय छ । हामी सीमानाका परिवर्तन गर्न सक्दैनौँ, दुवैतिर ठूला मुलुकहरु छन्, दुवैसँग हामीले सम्हालिएर काम गर्नुपर्ने आवश्यक्ता छ, दुवैलाई समदृष्टिले हेरेर अघि बढ्नुपर्ने अवस्था छ ।’
निकट भविष्यमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल भारत र चीन भ्रमणमा जाने तालिका रहेको बताउँदै उनल दुवै देशसँगको भेटपछि निर्यात प्रवद्र्धन झनै सहज हुने प्रतिबद्धता जनाए । भने, ‘निर्यात गर्दा कानूनको अभाव तपाईहरुलाई छैन, तर निर्यात गर्दा कतै दुःख पनि भइरहेको होला, त्यसलाई पनि सहजीकरण गर्नेछौँ । आउने दिनमा प्रधानमन्त्री छिमेकी दुवै देशको भ्रमण गर्नुहोला, त्यसमा सहजीकरण पक्कै हुनेछ तपाईहरुका लागि । यस पटक हाम्रो उद्योग मन्त्रालयमा सबैभन्दा कमजोर खर्च छ, खर्च गर्न सकिएको छैन ।’


