काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङबीच पहिलो भेट जुरेको छ । स्थानीय चुनावका दुई चर्चित उम्मेदवारहरुबीच आज भेट भएको हो ।
खानेपानी योजना माग्न काठमाडौं आएका साम्पाङले काठमाडौं महानगरपालिकाको कार्यालयमा पुगेर बालेनलाई भेटेका हुन् । साम्पाङ धरानका उपमेयर अइन्द्रविक्रम बेघासहितको टोली लिएर महानगपालिका पुगेका थिए । दुवै मेयरबीच सौहार्द वातावरणमा कुराकानी भएको थियो । साम्पाङले फेसबुकमा भेटघाटको तस्विर पोस्ट गरेका छन् ।
केही समयअघि बालेन र हर्कबीच फेसबुक वार चलेको थियो । बालेनविरुद्ध साम्पाङले धरावाहिक स्टाटस लेखेपछि उनीहरुको सम्बन्ध चिसिएको थियो । तर, पुरानो तिक्तता भुलेर हर्कले बालेनलाई भेटेपछि उनीहरुका शुभचिन्तक खुशी भएका छन् ।


