काठमाडौं।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरि उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । गृहमन्त्री श्रेष्ठलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए। सो क्रममा उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरेका हुन् । निरीक्षण भ्रमणका क्रममा मन्त्री श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलीग्राफ सेक्सन, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिएका छन् ।

निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्समार्फत ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, गण प्रमुखहरू, तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू तथा सबै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन सम्बोधन गरे । सो क्रममा उनले ‘सत्य सेवा सुरक्षणम्’ को मुल मन्त्रलाई आत्मसात गरी सेवाभावबाट ओतप्रोत भई नागरिकको जिउधनको सुरक्षा र अमनचयन कायम गर्न अहोरात्र खटिएर प्रहरी सेवा प्रदान गर्न गरिएका प्रयास अत्यन्तै सराहनीय रहेको भन्दै चर्चा गरे। सरकारको प्रतिनिधिको रुपमा सर्वप्रथम जनतामाझ पुग्ने नै प्रहरी भएको र सरकारको प्रतिनिधिको रुपमा नागरिकसँग प्रथम सम्पर्क हुने हुँदा कार्यस्थलमा सुरक्षाकर्मीले गर्ने व्यवहारबाट नागरिकको सरकारप्रतिको धारणा निर्माण हुने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले भने, ‘तपाईहरुले शरीरमा लगाएको बर्दी र काँधमा लगाएको फुलीमा सर्वसाधरणको भरोसा र विश्वास लुकेको छ । स्वच्छ, निष्पक्ष र छिटोछरितो सेवा प्रवाहमार्फत नागरिकको भरोसा र विश्वासलाई कायम राख्न अझ मेहनत गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’ तस्करी र राजश्व चुहावट नियन्त्रणमा नेपाल प्रहरीको भूमिका स्मरणीय र उल्लेखनीय रहेको बताउँदै उनले यसको गुणात्मक वृद्धिका लागि दृढ भई कारवाही गर्न समेत निर्देशन दिए ।

गृहमन्त्रीले मुलुकमा शान्ति-सुरक्षा स्थापना गर्न, नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्न, महिला बालबालिका, ज्येष्ठ नागरिकको पूर्ण सुरक्षा प्रत्याभूति गर्ने क्रममा तथा आमनागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराउन ऐन-कानूनले निर्दिष्ट गरेका जिम्मेवारीहरुलाई पूर्ण पालना गरी कानूनी राज्यको प्रत्याभूति दिन निर्देशन दिएका छन् । कुनै पनि अवाञ्छित दबाब र चलखेलमा नपरी संगठनको उद्देश्यलाई केन्द्रमा राखेर सम्पूर्ण प्रहरी कर्माचारीहरू ऐक्यबद्ध भई कार्य गर्नुपर्ने बताउँदै उनले पेशागत मर्यादा र प्रतिष्ठालाई कायम गर्दै संबिधान र कानूनले संगठनलाई दिएको जिम्मेवारी पूरा गर्न निर्भिकता पूर्वक सिर्जनात्मक ढंगले दायित्व निर्वाह गर्न भनेका छन। पदस्थापना बढुवा, सरूवालाई अधिकतम प्रणालीगत र संस्थागत ढंगले आगाडि बढाउन गृहमन्त्रालयले आवश्यक पहल गर्ने उनले उल्लेख गरे । सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गृहमन्त्रीबाट नेपाल प्रहरीको सांगठनिक अभिवृद्धि तथा प्रहरी कर्मचारीहरुको वृत्ति विकास लगायतका विषयहरुमा प्राप्त निर्देशनका लागि कृतज्ञता व्यक्त गरे । प्रहरी महानिरीक्षक कुँवरले आर्थिक अनियमितता एवं गैरव्यावसायिक आचरण विरुद्ध शून्य सहनशीलताको नीति आवलम्बन गर्दै आन्तरिक शुद्धीकरण अभियानलाई कठोरतापूर्वक लागू गर्न संगठन पूर्णरूपमा प्रतिवद्ध रहेको बताउँदै तालुक मन्त्रालयको सदिक्षा र सहयोगबाट आन्तरिक शुद्धिकरणको यो अभियानले सार्थकता पाउने बताए। लागूऔषधको सेवन, बिक्री-वितरण तथा ओसारपसार र सञ्चय गर्ने जस्ता अवैध गतिविधिलाई निस्तेज गर्न नेपाल प्रहरीले प्रवर्द्धनात्मक, नियन्त्रणात्मक र दण्डात्मक नीति अवलम्बन गर्दै आएको र लागूऔषध नियन्त्रण तथा रोकथाम कार्यलाई उच्च प्राथमिकतामा राखी निर्ममतापूर्वक कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा गृहसचिव विनोद प्रकाश सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका प्रवक्ता, प्रहरी नायव महानिरीक्षकहरु एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, गण प्रमुखहरू, तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।



