काठमाडौं । नेपाली काङ्ग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सरकारी सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय स्तरमै नेपालको बेइज्जत भएको बताएका छन् ।
मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अध्यागमन विभाग, भन्सार विभाग लगायतका निकायका सर्भर बारम्बार डाउन हुँदा देशकै छवि बिग्रेको भनाइ राखे ।
“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागको सर्भर बिहीबार डाउन हुँदा सयौं यात्रु करिब चार घण्टा लाइनमा बस्नु पर्यो, जसले गर्दा सबै रात्रिकालीन उडान प्रभावित भयो,” उनले भने, “सोही दिन भन्सार विभागको सर्भर डाउन हुँदा भन्सार कार्यालयको काम करिब पाँच घण्टा अवरुद्ध भयो ।”
नेपाल सरकारको वेबसाइट र सर्भर डाउन तथा ह्याक घटना कुनै नयाँ विषय नभएको भन्दै उनले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।


