काठमाडौँ, फागुन १६ गते । नेपाल साउदी अरेबियामा जारी वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
रियादमा मङ्गलबार राति भएको खेलमा नेपालले लेवनानाई २–१ ले हरायो । नेपालले दोस्रो हाफमा पुनरागमन जित निकाल्दै फाइनल यात्रा तय गरेको हो ।
नेपालले उपाधिको लागि जोर्डनसँग खेल्नेछ । पाँच पटकको विजेता जोर्डन सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० गोलले हराउँदै फाइनलमा पुगेको हो ।
नेपालको जितमा सावित्रा भण्डारी र प्रीति राईले गोल गर्नुभयो । प्रीतिले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै नेपालको जित सुनिश्चित गर्नुभएको हो । विपक्षीको रिबाउन्ड बलमा उहाँलेले डिबक्स बाहिरबाट सोझै जाली चुमाउनुभयो । यसअघि सावित्राले ७५औँ मिनेटमा लेवनानको रक्षकको गल्तीमा पोस्ट छेउबाट गोल गर्नुभएको थियो ।
लेवनानले ३८औँ मिनेटमा नेपालकी रक्षक पुजा रानाको आत्माघाती गोल सहयोथमा अग्रता लिएको थियो । पुजाले गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा अगाडि बढेको अवस्थामा दिएको ब्याकपास आत्माघाती गोल भएको थियो ।
दोस्रो हाफमा शसक्त प्रदर्शन गर्दै नेपाल उपाधि नजिक पुग्यो । समूह बीबाट प्रतिस्पर्धा गरेको नेपालले सिरिया, इराक र प्यालेस्टाइनलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।

नेपाल पहिलो पटक वाफ महिला फुटबल च्याम्पियनसिपमा सहभागी भएको हो । यसअघि नेपाली महिला टोलीले विभिन्न खाले १० फाइनल खेल खेलेपनि उपाधि भने जित्न सकेको छैन ।


