नयाँ दिल्ली- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानमा ठूलो हवाई दुर्घटना भएको छ । सञ्चार माध्यमले जनाए अनुसार भारतबाट उज्वेकिस्तानहुँदै मस्को जान लागेको विमान दुर्घटनामा परेको हो ।
यसैबीच, प्रारम्भमा भारतीय यात्री विमानमा भएको दावी अफगान सञ्चार माध्यमले गरेको थियो । विमान उत्तर पूर्वी अफगानिस्तानको बदख्सान प्रान्तमा दुर्घटनाग्रस्त भएको भनिएता पनि अहिलेसम्म यसको सटीक स्थान भने थाहा भएको छैन ।
यसैबीच भारतको नागरिक उड्ड्यन मन्त्रालयले अफगानिस्तानमा दुर्घटनाग्रस्त भएको विमान न त भारतीय शेड्यूलको विमान हो, न त नन-शेड्यूल चार्टर विमान नै हो भनेको छ ।
यो मोरक्कोमा दर्ता भएको सानो विमान हो भन्ने बताएको छ । यसबाट के प्रष्ट्र हुन्छ भने अफगानिस्तानमा कुनै पनि भारतीय विमान दुर्घटनाको शिकार भएको छैन ।
शनिबार राति बदख्सानको जेबक जिल्लाको पहाडी इलाकामा विमान दुर्घटनाग्रस्त भएको सञ्चार माध्यमहरुले जनाएका छन् । तर, हालसम्म यो विमानको पहिचानबारे भारत सरकार र अफगानिस्तान सरकारबाट कुनै आधिकारिक वक्तव्य जारी गरिएको छैन ।
विमानमा कति यात्रु थिए र दुर्घटनामा परेका यात्रु कुन देशका थिए भन्ने अझै खुल्न सकेको छैन ।
अफगानिस्तानका प्रान्तीय प्रहरी प्रवक्ताले आइतबार उत्तरी अफगानिस्तान प्रहरीलाई बदाक्षन प्रान्तमा एक विमान दुर्घटना भएको रिपोर्ट प्राप्त भएको बताएका थिए । बदाक्षन प्रान्त सरकारका प्रवक्ता जबिहुल्लाह अमिरीका अनुसार दुर्घटनास्थलमा एक टोली पठाइएको छ ।
दुर्घटनास्थल प्रान्तीय राजधानी फैजाबादबाट २०० किलोमिटर टाढा विकट क्षेत्रमा पर्दछ । त्यहाँ पुग्न १२ घण्टासम्म लाग्ने प्रवक्ता अमिरीले बताएका छन् ।


