२३ पुस, काठमाडौं । सबै नागरिकमा स्वास्थ्य बीमा पुर्याउने लक्ष्यसहित सरकारले १६ औं आवधिक योजनाको मस्यौदा तयार पारेको छ । राष्ट्रिय योजना आयोगले तयारी पारेको १६ औं योजनाको मस्यौदामा मानव पूँजी निर्माणतर्फ स्वास्थ्य क्षेत्रमा आर्थिक वर्ष (आव) २०८५/८६ सम्म कुल बजेटको १० प्रतिशत हिस्सा पुर्याउने लक्ष्य लिइएको छ । १६ औं आवधिक योजनाको आधार वर्ष मानिएको आव २०७९/८० मा कुल वार्षिक बजेटमा स्वास्थ्य क्षेत्रको बजेटको हिस्सा ५.७५ प्रतिशत मात्र रहेको छ ।
स्वास्थ्य सेवालाई सर्वव्यापाी, पहुँचयुक्त र समतामुलक बनाउने लक्ष्य राखेको १६ औं योजनामा विद्यमान स्वास्थ्य बीमा कार्यक्रमको समग्र पुनरावलोकन गरी समयानुकूल संशोधन एवम् परिमार्जन गरी सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गराउने लक्ष्य सरकारले लिने भएको छ । विशेषज्ञ र विशिष्टिकृत स्वास्थ्य सेवालाई समेत स्वास्थ्य बीमामा समेट्ने लक्ष्य योजनामा समेटिएको छ ।
स्वास्थ्य क्षेत्रमा निजी र सहकारी क्षेत्रको सहभागितामा वित्तीय दायरा बढाउने लक्ष्य १६औं योजनाको छ । लगानीलाई जवाफदेही र पादर्शी बनाउँदै कुशल व्यवस्थापनमार्फत स्वास्थ्य वित्त सुदृढ बनाउने समेत योजनाको मस्यौदामा उल्लेख छ । अहिले प्रति एक हजार जनसंख्यामा १.१४ स्वास्थ्यकर्मी रहेकोमा आगामी ५ वर्षभित्र प्रतिहजार जनसंख्यामा ४.६४ स्वास्थ्यकर्मी पुर्याउने लक्ष्य राखिएको छ ।
कुल आपूर्तिमा ९८ प्रकारका औषधिको स्वदेशी उत्पादनको प्रतिशत ८० प्रतिशतसम्म पुर्याउने समेत १६औं योजनाको मस्यौदामा उल्लेख छ । योजना आयोगले तयार गरिरहेको १६औं योजनालाई माघ महिनाभर पूर्णरुप दिने योजना आयोगको छ । आगामी आर्थिक वर्ष २०८१/८२ बाट १६ औंं आवधिक योजना कार्यान्वयनमा आउने छ ।


