नेपाली युवा टोली ८ वर्षपछि यु- १९ विश्वकप खेल्ने संघारमा छ। आगामी १९ जनवरीदेखि ११ फेब्रुअरीसम्म दक्षिण अफ्रिकामा सुरु हुन लागेको यु-१९ एकदिवसीय विश्वकपमा नेपाली टोली यो पटक आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गर्न चाहन्छ।
नेपाल यु- १९ टोली शुक्रबार साँझ नै कतारको दोहा हुँदै जोहानेसबर्ग पुगिसकेको छ। नेपालले यु- १९ विश्वकपमा आठौं पटक सहभागिता जनाउँदा सन् २०१६ यता भने यो पहिलो विश्वकप यात्रा हो।
दक्षिण अफ्रिकी भूमिमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको नेपाली टोली यो पटक आफ्नो फरक अनुभव अफ्रिकी पिचमा देखाउने प्रयासमा हुने छ। कप्तान देव खनालले पनि यो पटक नेपाल बलियो लक्ष्यसहित अगाडि बढेको भन्दै सबैको लक्ष्य उच्च प्रदर्शन रहेको बताए।
दक्षिण अफ्रिकामा उपाधि दाबेदार टोलीहरू अभ्यास खेलमा व्यस्त रहँदा नेपाली टोली भने हाइ पर्फमन्स क्याम्पमा अभ्यास गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। नेपालले प्रतियोगिता अघि ४ अभ्यास खेल खेल्ने छ।
जोहानेसबर्गमा एक साता हाइ पर्फमन्स क्याम्पमा बिताउँदा नामिबियासँग ९ जनवरी तथा स्कटल्यान्डसँग ११ जनवरीमा प्रतिस्पर्धा गर्ने कार्यतालिका रहेको छ। त्यस्तै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले व्यवस्था गरेका दुई अभ्यास खेल खेल्ने छ। नेपालले १३ जनवरीमा स्कटल्यान्डसँग खेल्दा १६ जनवरीमा टेस्ट टोली वेस्ट इन्डिजको सामना गर्ने छ।
प्रतियोगिताको समूह ‘डी’ मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान प्रतिस्पर्धा गर्दैछन्। नेपालले प्रतियोगिताको सुरुवात २१ जनवरीमा न्युजिल्यान्डसँग खेल्दै गर्ने छ। २४ जनवरीमा पाकिस्तानसँग भिड्दा समूहको अन्तिम खेलमा २६ जनवरीमा अफगानिस्तानको सामना गर्ने छ।
विश्वकपको तयारी गरिरहेका अन्य राष्ट्रहरू पनि अहिले अन्तिम चरणको अभ्यासमा छन्। दक्षिण अफ्रिकामा नै भारत, दक्षिण अफ्रिका र अफगानिस्तानले त्रिकोणात्मक सिरिज खेलिरहँदा अन्य टोली पनि दक्षिण अफ्रिका पुग्ने क्रम जारी छ।
पहिलो पटक नेपालले सन् २००० मा श्रीलंकामा विश्वकप खेलेको थियो। त्यसपछि २००२ मा न्युजिल्यान्ड, २००४ मा बंगलादेशमा भिड्दा २००६ मा श्रीलंका, त्यस्तै २००८ मा मलेसिया, २०१२ मा अस्ट्रेलिया र पछिल्लो पटक २०१६ मा बंगलादेशमा यु- १९ विश्वकप खेल्यो। त्यसपछि छनोट हुनलाई निकै संघर्ष गर्न पुगेको युवा टोली यो पटक आफ्नो छनोटलाई ऐतिहासिक बनाउने लक्ष्यमा रहेको छ।
नेपाली टोलीले विश्वकपको तयारीका रूपमा हेरिएको एसिया कपमा अपेक्षित प्रदर्शन गर्न सकेन। समूह ‘ए’ मा रहेको नेपालले भारत, पाकिस्तान तथा अफगानिस्तानसँग प्रतिस्पर्धा गरेकाे थियाे। प्रतियोगितामा नेपाल भारतसँग १० विकेटले पराजित हुँदा, अफगानिस्तानसँग ७३ रन तथा पाकिस्तानसँग ७ विकेटले हार्याे। त्यसैले नेपाल विश्वकपमा एसियाकपको प्रदर्शन बिर्सिदै नयाँ लयका साथ मैदान उत्रिने चुनौतीमा रहेको छ।
छनोटसम्मको यात्रामा उम्दा देखिएको नेपाली युवा टिम एसिया कपमा कमजोर रहँदा विश्वकपमा भने आफ्नो नयाँ इतिहास बनाउने लक्ष्यलाई साकार पार्न कति सक्षम होला त्यो भने एसियाडको प्रदर्शनमा निर्भर छ।


