नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनालले एसिया कपको खराब पक्ष बिर्सेर आगामी आइसिसी यू–१९ विश्वकपमा राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गरेका छन् ।
शुक्रबार विश्वकप खेल्न दक्षिण अफ्रिका जानुअघि टोलीको बिदाइ कार्यक्रममा कप्तान खनालले एसिया कपमा गरेको खराब प्रदर्शनलाई बिर्सेर आगामी विश्वकपमा सुखद् नतिजा ल्याउने विश्वास व्यक्त गरेका हुन् । आगामी खेलमा राम्रो प्रदर्शन गर्नेमा सबै सहकर्मी तयार रहेको उनको भनाइ छ ।
देवले नेपाली टोलीको लक्ष्य सुपर आठमा पुग्ने बताए । आसन्न यू–१९ विश्वकप यही १९ जनवरीदेखि सुरु हुँदैछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । सो समूहमा अफगानिस्तान, पाकिस्तान र न्यूजिल्याण्ड छन् ।
नेपालले २१ जनवरीमा न्यूजिल्याण्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि नेपालले २४ जनवरीमा पाकिस्तान र २७ जनवरीमा अफगानिस्तानसँग खेल्ने तय छ ।
नेपालले गत वर्ष आइसिसी एसिया छनोटमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) लाई हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।


