काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदमा आउन छाडेको भन्दै विपक्षी एमालेका सांसद रघुजी पन्तले व्यंग्य गरेका छन्।
केही दिनअघि संसदमा देखिएका दाहाल पछिल्लो समय बालुवाटार छेउछाउ देखा परेको भन्दै उनले संसदमा बुझाइ दिन आग्रह गरेका हुन्। प्रधानमन्त्रीले संसदमा समय नदिएको भन्दै पन्तले आइतबारको बैठकमा कटाक्ष गरेको हुन्।
प्रतिनिधिसभाको शून्य समयमा पन्तले भने, ‘नागरिकताको नाम श्री पुष्पकमल दाहाल, चलन चल्तीको नाम प्रचण्ड। स्थायी ठेगाना फेरि रहने, अस्थायी ठेगाना कहिले खुमलटार कहिले बालुवाटार। हुलिया पहिले पहिले कोट पाइन्ट लगाए पनि पछिल्लो समय दौरा सुरुवाल र टोपी पनि लगाउने। उमेर ६५ नाघेको ७० नपुगेका जस्तो देखिने।
उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिए पनि, हाल संसदमा आउनै छाडेकोले, उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनु होला। उहाँ अन्तिमपटक देखिएको ठाउँ बालुवाटारको छेउछाउ।’


