नेपाली नयाँ वर्षको लागि नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले स्वागत गरेका छन् ।
चिनियाँ पर्यटकहरुलाई मन्त्री किराँतीसहित नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले खादा माला लगाइदिएर पञ्चेबाजासहित स्वागत गरिएको हो ।
आज बिहान १८१ जना चिनियाँ पर्यटकहरु हिमालय एयरलाइन्सको विमान चार्टर गरेर नेपाल भ्रमणमा आएका हुन् । अझै थप पर्यटक आउने बताइएको छ ।
पर्यटकको स्वागत पछि मन्त्री किराँतीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नयाँ वर्षको आगमन सँगै चिनियाँ पाहुनाहरुलाई नेपाल र नेपाली जनताको तर्फबाट भव्य स्वागत गरियो । महामहिम चेन सोङ र चिनियाँ जनवादी गणतन्त्र सरकारलाई धन्यवाद । भोलि देखि नयाँ वर्ष मात्र होइन नयाँ दशक प्रारम्भ हुँदैछ । मलाई विश्वास छ,यो दशक नेपालीहरुको लागि सुख र समृद्धिको दशक बन्नेछ ।’


