राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले पूँजीगत खर्च गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
उनले अहिलेसम्म चालू खर्च ५१ दशमलव ४६ प्रतिशत, पूँजीगत खर्च २२ दशमलव १५ र व्यवस्थापन खर्च ३७ दशमलव ४१ प्रतिशत मात्रै गरेको भन्दै सरकारको आलोचना गरेका हुन् ।
सांसद शाहीले वास्तविक मिटरब्याजी सरकार भएको पनि लगाए । ‘असारमा मात्रै खर्च गर्ने, सरकारले अझै ७८ प्रतिशत पूँजीगत खर्च गर्न बाँकी छ । भएभरको पैसा बैंकमा राख्ने र ब्याज खाने ? यसले गर्दा वास्तविक मिटरब्याजी कोही छ भने सरकार हो,’ बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद शाहीले भने ।
उनले सरकारी पैसा ढुकुटीमा राखेर विकास निर्माणका काम ठप्प पारिएको आरोप पनि लगाए ।
‘यसरी बैंकमा पैसा राखेर जनतालाई अलमल पार्ने काम नगरियोस्, कर्मचारीले तलब खान पाएका छैनन् । निर्माण व्यवसायीले पैसा पाएका छैनन् । संसद नियमावली बमोजिम सम्बन्धित मन्त्रीबाट जवाफ चाहन्छौँ,’ शाहीले भने ।


