मन्त्री बन्न दुई करोड मागेको अडियो सार्वजनिक भएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले स्पष्टीकरण दिएका छन् । उनले पार्टीको अनुशासन तथा आचरण समितिलाई हिजो अबेर स्पष्टीकरण बुझाएका हुन् । उनलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भनिएको थियो । उनले स्पष्टीकरण पत्रमा अडियो आफ्नो नभएको जिकिर गरेका छन् ।
‘स्पष्टीकरण आएकाे छ । सार्वजनिक भएको अडियोको आवाज आफ्नो होइन । पार्टीले गर्ने निर्णयमा सहमत छु भनिएको छ,’ अनुशासन समितिका प्रमुख भरत देवकोटाले भने ।
सांसद श्रेष्ठले स्पष्टीकरण दिएपछि अनुशासन समितिले छानबिन प्रक्रिया थप अगाडि बढाएको छ । छानबिनको लागि तीन दिन समय पाएको समितिले आज प्रतिवेदन पार्टीलाई बुझाउने तयारी गरेको छ । निर्णय गर्न दिउँसो १ बजे अनुशानसन समितिको बैठक बस्दै छ । ‘छलफल गर्दैछौँ । साँझ ५ बजेसम्म एउटा निर्णयमा पुग्छौँ । केहीगरी ढिला भयो भने भोलि निर्णयमा पुग्छौँ,’ देवकोटाले भने ।
अनुशासन समितिले प्रतिवेदन बुझाएपछि सांसद श्रेष्ठको विषयमा पार्टीले कारबाहीबारे निर्णय लिनेछ । स्वास्थ्य मन्त्री बन्न सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो २६ चैतमा सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि छानबिनका लागि पार्टीले उनलाई निलम्बन गरेको छ ।


