ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा सभापति पदमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी भएका छन्।
गए राति सकिएको मतगणनाको परिणामअनुसार विष्ट ८४१ मत ल्याउँदै विजयी भए। उनका प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मतमात्रै ल्याउन सके। उनीहरूबीच १६९ मतान्तर रहेको छ।
नेविसंघका इकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए। पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो।
केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाटनको स्ववियु सभापतिका लागि सुरूमा विष्टलाई नै टिकट दिएका थिए। पछि युवराज थिङलाई आधिकारिक उम्मेदवार भन्दै टिकट दिएपछि पाटनमा नेविसंघ दुई समूहमा विभाजन भएको थियो। विवाद समाधानका लागि पटक-पटक वार्ता गरिए पनि सहमति नजुटेपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए।


