भदौ २, गोरखा । प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटदेखि गोरखा दरबारसम्म म्याराथुन हुने भएको छ ।
‘नेपालको उत्पत्तिदेखि जगसम्म’ भन्ने नाराका साथ भदौ २५ गते लिगलिगकोट–सिरानचोककोट– गोरखा दरबार खुल्ला म्याराथुन हुने भएको हो । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको रिपुमर्दन गणको संयुक्त आयोजनामा प्रतियोगिता हुने भएको हो ।
लिगलिगकोट पालुङ्टार नगरपालिकामा, सिरानचोककोट सिरानचोक गाउँपालिकामा र गोरखा दरबार गोरखा नगरपालिकामा पर्ने भएकाले तीनवटा स्थानीय सरकारले दौडको आयोजना गरेका हुन् । साथै नेपाल एकीकरण अभियानमा पहिलो पटक लिगलिगकोटमा सेनाको गण तयार गरेको इतिहासको सम्झनामा सो म्याराथुन प्रतियोगितामा नेपाली सेनाको पनि सहकार्य रहेको हो ।
लिगलिगकोटबाट सुरु हुने दौड चित्रेपोखरी, छोप्राक, चोरकाटे, छेपेटार,पस्लाङ चौतारो हुँदै ४० किलोमिटर पूरा गरी गोरखा दरबारको हनुमान भन्ज्याङमा पुगेर टुंगिने गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले बताउनुभयो ।
नेपाल निर्माणको उत्पत्तिस्थल लिगलिगकोटदेखि सिरानचोक हुँदै नेपाल एकीकरणको जग गोरखा दरबारसम्म आयोजना गरिएको प्रतियोगिताले यी क्षेत्रका गढी किल्लाको संरक्षणमा पनि सहयोग गर्ने सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताउनुभयो ।
प्रतियोगिताले यी क्षेत्रका गढी किल्लाको संरक्षणमा पनि सहयोग गर्ने सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताउनुभयो ।
गोरखाको इतिहासका बारेमा नयाँ पुस्तालाई जानकारी गराई खेल मार्फत पर्यटन प्रबद्र्धनका लागि प्रतियोगिता सफल हुने विश्वास लिईएको पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले बताउनुभयो ।
नेपाल एकीकरणको उद्गम थलो गोरखाको इतिहास जगेर्ना गरी राष्ट्रिय एकताको स्मरण गराउनुका साथै पर्यटन प्रबद्र्धनमा सघाउन प्रतियोगिता फलदायी हुने जिल्ला समन्वय समितिका प्रमुख मोहनबहनदुर थापा मगरले बताउनुभयो ।
प्रतियोगितामा सहभागी हुन चाहनेले तीनवटै पालिका अथवा रिपुमर्दन गणमा भदौ २० गतेसम्म नाम दर्ता गर्न सक्नेछन् । अनलाइन मार्फत पनि आबेदन दिन सकिनेछ । नाम दर्ताका लागि ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । करीब ३ सय जना प्रतियोगितामा सहभागी हुने अनुमान गरिएको छ ।
४० किलोमिटर दुरीको उक्त दौड प्रतियोगिताका दश विजेतालाई नगद सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ । आयोजकका अनुसार प्रथम पुरस्कार नगद १ लाख ५० हजार, द्वितीय पुरस्कार नगर १ लाख र तृतीय पुरस्कारको राशी नगद ७५ हजार रुपैयाँ छ ।
प्रतियोगिता गर्न करिब १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताका लागि रिपुर्मदन गणले १ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी रकम तीन पालिकाले ब्यबस्थापन गर्ने भएका छन् । प्रतियोगिता सञ्चालनका लागि मूल समिति र सञ्चालक समिति बनाएर काम सुरु गरेको पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले बताउनुभयो ।
चार सय ६३ बर्ष पहिले लिगलिगकोटका राजा द्रब्यशाहले गोरखा राज्यमा राज्याभिषेक गरेको दिनको स्मरणमा उनले प्रयोग गरेको पदमार्गलाई आधार बनाएर २०७६ सालबाट म्याराथुन सुरु गरिएको थियो । कोभिडका कारण दुई बर्ष यो प्रतियोगितालाई निरन्तरता दिन नसकेपनि यो बर्ष हुने भएको हो । द्रब्यशाहले वि सं १६१६ भदौ २५ गते गोरखा नगरपालिकाको पश्लाङ चौतारोमा राज्याभिषेक गरेका थिए । राज्याभिषेक गरेको ठाउँमा हाल उनको शालिक छ ।


