बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रको घरगोठको दोस्रो चरणको मुआब्जा बितरण भएको छ । शुक्रवार २५ सय ६९ जना लाभग्राहीको तीन अर्व दुई करोड मुआब्जा रकम पठाइएको आयोजनाको मुआब्जा, बतावरण पुनर्बास तथा पुनस्र्थापना इकाईका प्रमुख जगतकुमार श्रेष्ठले बताए ।
यस अघि इकाईले पहिलो चरणमा घरगोठ, बोटबिरुवाको आठ सय लाभग्राहीको एक अर्व ७० करोड रुपैयाँ मुआब्जा बैंक खातामा पठाएको थियो । ‘अझै हामीसँग एक अर्व रुपैयाँ बाँकी छ’ इकाई प्रमुख श्रेष्ठले भने ‘पाँच सय निवेदन पनि बाँकी छ, केही तथ्याङ्क सच्याउनुपर्नेछ भने केही हामीले हेर्दैछौँ ।
’ जग्गाको मुआब्जा लिएका लाभग्राहीको नाममा घरगोठ, बोटबिरुवा नापजाँच भएको छ भने सोही ब्यक्तिको नाममा मुआब्जा आउनेछ । तर दर्ता नम्बर नभएका, यस अघि मुआब्जा नलिएका ब्यक्तिको हकमा भने समस्या भएको इकाईले जनाएको छ ।
‘एकाघरको हुनुहुन्छ र दर्ता भएकै ब्यक्तिको नाममा मुआब्जा दिँदा फरक पर्दैन भन्ने निवेदन आयो भने त्यस्तो समस्या भएकाहरुको तत्काल मुआब्जा पठाउन सकिन्छ’ इकाई प्रमुख श्रेष्ठले भने । जग्गा एउटाको घरगोठ, बोटबिरुवा नापजाँच अर्कोको, सार्वजनीक जग्गामा ब्यक्तिले बनाएका संरचना, जग्गा भाडामा लिएर बनाएका संरचना भएकाहरुको भने तत्काल आउने संभावना कम छ । ‘यसका लागि छुट्टै निर्णय गर्नुपर्नेछ’ इकाई प्रमुख श्रेष्ठले भने ।
अझै करिब पाँच सय निवेदकहरुको मुआब्जा बितरण गर्न बाँकी छ । घरगोठको मुआब्जा दिन इकाई सँग एक अर्व रुपैयाँ बाँकी छ । मुआब्जा रकम कम आएको गुनासो केही लाभग्राहीले गर्न थालेका छन् । ‘के को कति, कुनकुन शिर्षकमा मुआब्जा आयो भन्ने बारेमा बिस्तृत बिवरण हेर्न पाईन्छ’ आयोजनाको इकाई कार्यालय प्रमुख श्रेष्ठले भने ‘अहिले हामी मुआब्जा बितरणको काममा ब्यस्त भएकाले साउन लागेपछि लाभग्राहीले कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ ।’ हरेक लाभग्राहीले आफ्नो बिवरण हेर्न पाउने ब्यवस्था गरिने उनले बताए । त्यसका लागि इकाईले सरल सहजिकरण गर्न प्राविधिक खटाउने तयारी गरेको छ ।
इकाईले यस अघि धादीङ र गोरखा तर्फ ४४ हजार नौ सय ८८ रोपनी क्षेत्रफल जग्गाको ३४ अर्व नौ करोड रुपैयाँ बितरण गरिसकेको छ । घरगोठको मुआब्जा जिल्ला मुआब्जा निर्धारण समितिले २०७८ चैत तेस्रो साता मात्रै निर्धारण भएको थियो । मुआब्जा निर्धारण भएको दुई महिना भित्रै इकाईले ८० प्रतिशत भन्दाबढि घरगोठ, बोटबिरुवाको मुआब्जा बितरण गरिसकेको छ ।
गोरखा र धादीङको सिमानामा रहेको बूढीगण्डकी जलविद्यूत आयोजना १२ सय मेघावाटको बन्ने लक्ष्य लिइएको छ । कुन मोडालिटीमा बन्ने भन्ने यकिन भने भएको छ । जग्गा अधिकरण र मुआब्जा बितरणको काम भने अन्तिम चरणमा पुगेको छ । पुर्नस्थापना, पुर्नबासको इकाईले अझै टुङ्गो नलगाएको गुनासो स्थानीयको छ ।
‘मुआब्जा बितरणको क्रममा जग्गा र घरगोठमा पनि केही समस्या देखिएको छ’ बूढीगण्डकी जलविद्यूत आयोजना राष्टिूय सरोकार समितिका संयोजक हरेराम ढकालले भने ‘पुर्नस्थापना, पुर्नबासको विषय पनि बाँकी छ ।’ जग्गाको मुआब्जा निर्धारण गर्दा जिल्ला मुआब्जा निर्धारण समितिले गरेको अधिकासं निर्णय अझै कार्यन्वयन हुन बाँकी रहेको उनले बताए । ‘यस अघि भएका निर्णयहरु कार्यन्वयन हुनुपर्छ’ उनले भने ।


