गोरखाको गण्डकी गाउँपालिकाको केन्द्र विवाद फेरि बल्झिएको छ। पाँच वर्षदेखिको केन्द्र विवादको किचलो स्थानीय तहको दोस्रो निर्वाचन पछि थप उत्कर्षमा पुगेको हो।
भुम्लिचोक वडा नम्बर ६ मा केन्द्र रहने निर्णय पहिलो स्थानीय सरकारले गरेको थियो। निर्णय भएर ठेक्का प्रक्रियामा पुगेको अन्तिम चरणमा दोस्रो स्थानीय सरकार आएसँगै रद्ध गरिएको थियो। प्रमुख प्रशासकिय भवन निर्माणको ठेक्का रद्ध गरेर अहिले गाउँपालिकाको केन्द्र सार्ने तयारीमा अध्यक्ष दिपक तिमल्सिना देखिन्छन्। उनले पहिलो निर्णय नै केन्द्र स्थानान्तरण गर्ने योजनासहित प्रशासनिक भवनको ठेक्का तोडेका थिए।
सोमवार बसेको दशौँ गाउँ सभामा फेरी केन्द्र बिवाद बल्झिएको छ। माओवादीबाट निर्वाचित जनप्रतिनिधिले वडा नम्बर ६ को आग्रिडाँडामा केन्द्र लैजाने प्रस्ताब गरेका छन्। एमाले उक्त प्रस्ताबको बिपक्षमा छ। एमालेबाट निर्वाचित वडा अध्यक्ष राजुबाबु भण्डारीले दलभञ्ज्याङ्क सबैका लागि केन्द्र पर्ने भएकाले त्यहाँ उपयुक्त हुने बताए।

नेपाली कांग्रेसबाट निर्वाचित  गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले केन्द्र स्थानान्तरण गर्ने ठाउँ कहाँ हो? कुन/कुन कित्ता कसले दिने भनेको हो? खरिद गर्ने हो कि दान लिने हो ? कति क्षेत्रफल जग्गा चाहिन्छ भन्ने यकिन नगरी निर्णय गराउन खोजेको बताईन। ‘हामीले छलफल गरेर, अध्ययन गरेपछि मात्रै निर्णय गरौँ भनेका हौँ’ उनले भनिन्, ‘तर माओवादीबाट निर्वाचित साथीहरु तयार हुनुभएन, त्यो भएर गाउँसभा टुङ्गिएन, हामी निस्कियौँ।’

गाउँपालिकाको केन्द्र स्थानान्तरण गर्न गाउँ सभाको दुई तिहाई मत आवस्यक पर्छ। एक सदस्य कम हुँदा माओवादी केन्द्रको दुई तिहाई पुग्दैन। नेकपा एमालेबाट उक्त गाउँपालिकामा दुई जना मात्रै जनप्रतिनिधि निर्वाचित छन्। दुईजनाले मतदान गरेको खण्डमा दुई तिहाई पुग्छ। यसअघि आफ्नो नेतृत्वमा गाउँपालिका रहेकाले अहिले रहेको ठाउँमै केन्द्र रहनुपर्नेमा कांग्रेसको जोड छ। नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले माओवादी केन्द्रले गरेको प्रस्तावमा सहजै मतदान गर्ने देखिँदैन। एमाले र कांग्रेसका सदस्य भने केन्द्रको बिषयमा एकै ठाउँमा देखिन्छन्।
सोमबार भएको दशौँ गाउँसभामा गाउँपालिकाको केन्द्र आग्रिडाँडा सार्ने भन्ने प्रस्ताव भएपछि एमाले र कांग्रेसकाले थप छलफल गर्नुपर्ने भन्दै बैठक छाडेका हुन्। केन्द्रको विषयमा प्रस्ताव पुन गाउँ कार्यपालिकामा फिर्ता पठाइएको प्रमुख प्रशासकिय अधिकृत बेदहरी अधिकारीले बताए। ‘गाउँ सभाको बैठक भयो तर केन्द्रको प्रस्ताव पुन: कार्यपालिकामा छलफल गर्ने गरी फिर्ता पठाईयो’ उनले भने। एमालेबाट निर्वाचित जनप्रतिनिधिले भने माओवादी केन्द्रले गरेको प्रस्ताबमा सहमती जनाउन दबाव आएको बताएका छन्। एमालेबाट निर्वाचित वडा नम्बर ४ कि सदस्य सरिता भट्टलाई आग्रिडाँडाको पक्षमा मतदान गर्न दबाव दिँदै मानसिक तनाव दिएको वडा अध्यक्ष राजुबाबु भण्डारीले बताए। ‘बैठकमा प्रस्ताब भयो, यो बारे छलफल गरेर निर्णय गरौँला भन्दा पनि माओवादीका साथीहरुले मान्नुभएन’ उनले भने ‘हामीले टचर अनुभुती गरेर बैठकबाट निस्कियौँ।’ सबैलाई पाएक पर्ने ठाउँ दलभञ्ज्याङ रहेको उनले दोहोर्‍याए।

गाउँपालिका अध्यक्ष दिपक तिमल्सिनाले भने सबैलाई पाएक र सजिलो पर्ने ठाउँमा केन्द्र स्थानान्तरण गर्ने गरी गृहकार्य अघि बढेको बताए। ‘आग्रिडाँडा, बन्टार, दलभञ्ज्याङ यी धेरै टाढाको दुरीमा होईन’ उनले भने ‘अहिले भएको भन्दा तल सार्नुपर्छ भन्नेमा सबै जनप्रतिनिधि, सांसदहरु सहमत हुनुहुन्छ।’ केन्द्रको विषय पुन कार्यपालिकामा छलफल गरेर अघि बढाउने उनले बताए।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय