अपराधीको सट्टा जेलमा राखिएका दलित किशोरको रोल्पा कारागारमा भएको मृत्यु प्रकरणको छानबिन गर्न गृहमन्त्री बालकृष्ण खाँणले समिति गठन गरेका छन् । गृहमन्त्री खाँणले रोल्पा कारागार कार्यालयमा जेठ ४ मा कैदीका रूपमा सुन्दर हरिजनले झुण्डिएर आत्महत्या गरेको भनिएको घटना सम्बन्धमा स्थलगतरूपमा सत्य तथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईंको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन् ।
सहसचिव सेढाईंको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्रिस्तरीय निर्णयबाट कार्यादेश दिइएको मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जानकारी दिए।
समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहेका छन्।
यसअघि हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न बनाइएको कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईं नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाएका थिए। प्रतिवेदनमा रोल्पा कारागारका अधिकारीको कुनै संलग्नता नरहेको भनिएको थियो।
हातहतियार मुद्दामा ५ वर्ष जेल सजाय पाएका विजयविक्रम शाहको नाममा चोरीको आरोपमा १ वर्षका लागि जेल सजाय गरिएका हरिजनलाई रोल्पा कारागारमा राखिएको थियो। जेलबाट छुट्नु केही दिन पहिले हरिजनले रोल्पा कारागारमा आत्महत्या गरेको समाचार सार्वजनिक भएको थियो। उक्त मृत्यु प्रकरणको संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिएको छ।


