त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध नेपालले मध्यम सुरुवात गरेको छ । नेपालले पावरप्ले (६ ओभर) मा महत्वपूर्ण २ विकेट गुमाएर ४४ रन बनायो ।
नेपालले दोस्रो विकेटको रूपमा रोहितकुमार पौडेललाई गुमाउन पुग्यो । ३ बलको सामना गरेका उनी २ रनमा आउट भए । जारी सिरिजमा रोहित राम्रो लयमा देखिएका थिए । तर, फाइनलमा भने उनको ब्याट शान्त रह्यो ।
नेपालले पहिलो विकेटको रूपमा ओपनर कुशल भुर्तेललाई गुमायो । उनले आज २२ बलमा ५ चौकाको मद्दतमा २५ रन बनाए । कुशल छक्का हान्ने धुनमा काबुआ मोरियाको बलमा आउट हुन पुगे । रोहितलाई भने रिले हेकुरेले आउट गरेका हुन् ।
नेपालले आज पनि टस हारेर ब्याटिङको निम्तो पाएको हो । नेपाल–पिएनजीबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । कमलसिंह ऐरीको स्थानमा आज सोमपाल कामीले मौका पाएका छन् ।


