१५ चैत, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आगामी स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुसँग ‘स्थानीय अवस्था र आवश्यकता’ अनुसार तालेमल गर्ने भएको छ । यससँगै प्रमुख विपक्षी नेकपा एमालेसँग तालेमल गर्ने र सत्तारुढ दलहरुसँग देशव्यापी गठबन्धनको बाटो बन्द भएको नेताहरुले बताएका छन् ।
शुक्रबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरु चुनावी गठबन्धनको पक्ष र विपक्षमा विभाजित भएका थिए । प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा र उनी निकट नेताहरु गठबन्धनको पक्षमा थिए भने डा. शेखर कोइराला पक्षका नेताहरुले एक्लै चुनाव लड्नुपर्ने मत राख्दै आएका थिए ।
नेताहरुका अनुसार यदि सभापति देउवाले चाहेको जस्तो निर्णय भएको भए कांग्रेस स्थानीय तह मात्र होइन, प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धन गरेर जाने पक्षमा उभिन्थ्यो । तर तालमेल गरेर जानुपर्छ भन्ने नेताहरु पनि केन्द्रबाट निर्णय गर्ने होइन, तल्लो कमिटीहरुलाई नै निर्णय गर्न दिनु उपयुक्त हुने मत राखेका थिए । ‘आजको निर्णयले सबैको भावनालाई समेटेको छ,’ एक पदाधिकारी भन्छन्, ‘सभापतिलाई गठबन्धनको पक्षमा निर्णय गराएँ भन्ने भएको छ । शेखर कोइरालाले तल्लैबाट निर्णय गर्ने बनाएँ भन्ने ठाउँ पाउनु भएको छ ।’


