सर्लाही – वनमा लागेको डढेलोको कारण तराईमा  वायु प्रदूषण बढेको छ।  केही दिनदेखि  सर्लाही, सिन्धुली, महोत्तरी, रौतहट लगायतका जिल्लामा पर्ने चारकोसे झाडी र चुरेक्षेत्रको वनमा लगातार  लागेको डढेलोले प्रदूषण बढाएको हो ।  वन क्षेत्रमा लागेको डढेलो र त्यसबाट निस्केको धुवाँको मुस्लोले धेरैजसो ठाउँ ढाकेको छ ।

पिरो धुवाँ र खरानीको धुलोको कारण आँखा पोल्ने, सास फेर्न गार्हो हुने जस्ता समस्या देखिन थालेको स्थानीय बासिन्दाले बताएका छन् । तीन हप्तादेखि लगातार लागेको डढेलोले मध्ये तराईमा पर्ने  चारकोसे झाडीको राष्ट्रिय  वन, साझेदारी वन, चक्कला वनका धेरैजसो क्षेत्र  सखाप  भएको छ ।

दिनभरि वनमा लागेको डढेलोको धुवाँले जङ्गल छेउको बस्ती ढाक्ने गरेको छ ।  सर्लाही खण्डमा पर्ने मुर्तिया, घुर्कौली, फूलजोड, बाँके र उत्तरी चुरेक्षेत्रका चुरे  जङ्गलमा लगातार तीन हप्तादेखि ठूलो डढेलो लागिरहेको छ। डढेलो नियन्त्रणका लागि पूर्व तयारी नहुँदा त्यसबाट वन, वन्यजन्तु ,जैविक विविधता माथि नराम्रो असर पर्ने गरेको विज्ञको भनाइ छ।

डढेलो नियन्त्रण गर्न जिल्ला वन कार्यालय र त्यस मातहत रहेका सबडिभिजन वन कार्यालयले  खासै  भूमिका निर्वाह गर्न नसक्दा वन जङ्गल डढेलोको चपेटामा पर्ने गरेको हो । डढेलो नियन्त्रणका लागि विज्ञ सहितको पूर्व तयारी, सावधानी र नागरिकमा चेतना नहुँदा  प्रत्येक वर्ष यसरी नै सामुदायिक वन ,साझेदारी वन, कबुलियत वनमा डढेलो लाग्ने गरेको सर्लाहीका सहायक वन अधिकृत चन्द्रप्रकाश यादवले बताउनुभयो ।
 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय